किरात याक्थुङ चुम्लुङ पोर्तुगलले सिसेक्पा तङनाम भब्य रूपमा मनाउने भएको छ

किराँत याक्थुङ चुम्लुङ पोर्तुगलले अाफ्नो पाँचौं वार्षिक साधारण सभाको अवसरमा साँस्कृतिक कार्यक्रमका साथै लिम्बू जातिको मौलिक पर्व सिसेक्पा तङनाम मनाउने भएको छ । यही जून २१ तारिक आइतबारको दिन संस्थाको वार्षिक साधारण सभामा सिसेक्पा तङनामको शुभकामना अादान प्रदान तथा लिम्बु जातिको साँस्कृतिक पहिचान झल्काउने कार्यक्रम एकसाथ सम्पन्न हुन लागेको हो । पोर्तुगलको राजधानी लिस्वन स्थित rua da mandalena No. 199-1°मा हुन लागेको कार्यक्रममा अन्य विभिन्न जातिय संस्थाहरुको प्रस्तुती समेत हुने अायोजकले जनाएको छ । यसका साथै चुम्लुङ पोर्तुगल शाखा स्थापना देखि सहयोग गर्नुहुने समाजसेवी लिम्बू व्यक्तित्वहरुलाई सम्मान, मौलिक परिकार सहित चियापानको अायोजना गरिने संस्थाका महासचिव रुकमान केरुङले जानकारी दिनुभयो । लिम्बुहरुको मौलिक पहिरन, खानपान र सिंगो सँस्कृतीका बारेमा हरेक वर्ष झै यो वर्ष पनि लिम्बु तथा गैर लिम्बु नेपालीमाझ जानकारी दिनका साथै लिम्बू समुदायमा पुस्तान्तरणको अवसर सिर्जना गर्न एकसाथ साधारण सभा र शुभकामना अादान प्रदान गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष दिपा लिवाङले वताउनुभएको छ । उहाँले पोर्तुगलमा छरिएर रहनुभएका लिम्बू दाजुभाइ तथा दिदीवहिनीहरुलाई कार्यक्रममा सहभागी हुन अनुरोध समेत गर्नुभएको छ । कार्यक्रमको तयारी तिव्र रुपमा भइरहेको महासचिव केरुङले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया