विश्वको पहिलो कोरोना भ्याक्सिनको नाम ‘स्पुतनिक पाचौं’ तर डब्लुएचओले कहिले गर्ला अनुमोदन

एजेन्सी, २७ साउन । रुसले विकास गरी अनुमोदन गरेको विश्वको पहिलो कोरोना भ्याक्सिनको नामाकरण भएको छ । स्पुतनिक पाचौं नाम दिइएको भ्याक्सिन अनुमोदनको घोषणा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेका थिए ।

रुसले सन् १९५७ मा पहिलोपटक प्रक्षेपण गरेको मानवनिर्मित भु-उपग्रहको नाम पनि स्पुतनिक हो । भ्याक्सिनको नाम पनि स्पुतनिक राखिएको छ ।

यसैगरी रुसमा निर्मित सँसारकै पहिलो भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले अनुमोदनको छाप लगाउनु अघि भ्याक्सिन प्रभावकारी र सुरक्षित रहेको तथ्यहरुको पुनरावलोकन आवश्यक परेको जनाएको छ । डब्लुएचओले रुसी स्वास्थ्य अधिकारीहरुसँग निकटमा रहेर यसबारे छलफलमा रहेको जनाएको छ ।

रुसको गेमेलिया रिसर्च इन्स्टिच्युटले विकास गरेको भ्याक्सिन अक्टोबरमा त्यहाँका सर्वसाधारणमा प्रयोगमा ल्याइने भएको छ । रुसी राष्ट्रपति पुटिनले सर्वप्रथम सैनिक, स्वास्थ्यकर्मी, शिक्षकलगायतमा लगाइने बताइसकेका छन् ।

यसअघि पुटिनले उच्च अधिकारीहरुसँगको बैठकमा रुस कोरोना भ्याक्सिन विकास गरी प्रयोगका लागि दर्ता गर्ने पहिलो मुलुक भएको बताएका थिए ।

तपाईको प्रतिक्रिया