एउटा प्रेमको दर्दनाक अन्त्य

प्रमिलाले न्याय पाउन के गर्नुपर्ला ?

साउन पहिलो साताको एक दिन । झमक्क साँझ पर्न लागेको थियो । न्यूज रुम, प्राइम बुलेटिनको तयारी । निकै हतारमा थिएँ । ६ बजेपछि स्वभाविक रुपमा न्यूज रुमको प्रेसर यसै हुन्छ । त्यही प्रेसरका बीच समाचार कक्षमा छिरेकी थिइन् उनी । शुरुमा ध्यान दिइनँ । अझ भनौ ध्यान दिन जरुरी ठानिनँ । त्यस्तो ध्यान दिनुपर्ने खास केही थिएन, उनमा । समाचार कक्षमा मानिसहरु आउने जाने क्रम चलिरहन्छ । सबैलाई ध्यान दिएर के साध्य ? तर परिस्थिति यस्तो पर्‍यो । उनीसँग नबोली धरै भएन । मलिनो अनुहार, पातली तर गहुँगोरी । मधुरो आवाजमा नमस्ते गरिन् । लाग्यो केही समाचार लिएर आएकी छिन् । लागेको थिएन, त्यति गम्भीर विषयमा उनी न्यायको खोजीमा निस्किएकी होलिन् ।

आफ्नो कुर्सी छोडेर गीता (सहकर्मी) र म उनको छेवैमा पुग्यौ । एकै सासमा उनले आफ्नो कुरा भनेर सकिन् । ‘म प्रमिला केसी (नाम परिवर्तन) । घर जुम्ला । मलाई जवरजस्ती करणी भयो । बौद्ध प्रहरीमा मुद्दा हालेको छु । प्रहरी उसलाई खोज्नै मान्दैन । त्यसलाई खोजेर जसरी नि कारबाही गराउनु छ, दिदी ।

उनी अझै रोकिएकी छैनन् । हामी अवाक भएर मुखामुख गर्‍यौं । के बोल्ने, के सोध्ने पनि मेसो भएन । उनी हिम्मत जुटाएर हामीलाई भेट्न आएकी थिइन् । त्यसैले केहि त बोल्नै पर्थ्यो ।

चासो नराखुँ भन्दा भन्दै विषयले यसरी तान्यो । मन पेशाबाट निस्किएर मानवता तिर ढल्कियो । तत्काललाई पत्रकारिता र समाचार बिर्सिएँ । न्यायका लागि पनि वास्तविकता त बुझ्नै पर्थ्यो। उनी र घटनाबारे थप सोधी खोजिगर्न थालें ।

कति वर्ष हुनुभयो ?

उनि बोलिन्, १९ वर्ष ।

के गर्नुहुन्छ ?

पढ्छु । जावलाखेलमा रेडियोलोजी तेश्रो वर्षमा । एकै श्वासमा भनिन् ।

अनि कहिले भयो तपाईलाई त्यस्तो ?

बैशाखमा ।

बैशाखमा……! लाग्यो, न्याय खोज्न ढिला भएन ? तर, सोध्न सकिनँ । उनी आफैं बोलिन् । एउटा प्रेमको दर्दनाक कथा । हामी चुपचाप सुनिरहृयौं ।

झण्डै एकवर्ष अगाडीको कुरा । केसीसी कलेजमा अध्ययन गर्ने एकजना केटासँग उनको भेट भयो । हेर्दा आकर्षक थियो केटा । त्यसमाथि ईन्जिनियरिङ पढ्दै गरेको । घर जुम्ला नै, भाषा मिल्यो, भेष मिल्यो, संस्कार मिल्यो, संस्कृति पनि मिल्यो । उसले खुब पच्छ्यायो । फकायो । माया गर्छु भन्यो । उनलाई पनि माया गरेकै जस्तो लाग्यो । र, दिन दिनैको टेलिफोन र भेटघाटले उनीहरु दुई जनामा माया बस्यो । प्रेमी, प्रेमिका भए । अब बिहे गर्ने योजना बन्यो ।

प्रमिलाले आफ्नो कथा सुनाउँदै गइन्, हामी सुन्दै ।

तर, एकदिन उसले फकायो । रुममा जाउँ भन्यो ।

प्रमिलाका अनुसार उनले जान्न भनिन, तर, फकायो उसले । आखिर बिहे गर्ने नै भएपछि किन आनाकानी ? प्रमिलालाई पनि लाग्यो, आखिर बिहे नै गर्ने भए के हुन्छ र कोठामा गएर ?

उनी गइन् उससँग बौद्धमा ।

मध्य राति होइन, जब मध्य दिउँसै प्रेमीबाट लुटिइन प्रमिला……त्यसपछि मोडिएको हो, उनको जीन्दगी ।

फकाई, फकाई माया गर्छु भनेर सर्वस्व सुम्पिएकी प्रमिलाको सर्वस्व लुटेर कोठाबाट फरार भयो, उनको प्रेमी । फोन अफ गर्‍यो । फेसबुकमा ब्लक गर्‍यो । आजसम्म पनि सम्पर्कमा आएन । उनी झण्डै १ महिना त्यहि कोठामा उसकै बाटो कुरेर बसिन् । प्रमिलाका अनुसार निस्किँदा छुट्टै राम्रो कोठा लिन पैसा पुगेन भन्दै कानमा लगाएको सुन पनि खोलेर लग्यो ।

एक्लै किन पठाउनुभा’को त ?

फकायो । मैले आधा सुनें आधा सुनिन् । त्यस्तो घटना भएपछि म बेहोसजस्तै भएछु । विश्वास गरें । पर्खिएर बस्छु भनें तर, आएन । यति भन्दै गर्दा टिलपिल टिलपिल गरेका उनका आँखा अब बग्न थाले ।

अति भएपछि उसको बुवालाई फोन गरिन् । यथार्थ भनिन् । केटाको बुवा जुम्लाकै स्वास्थ्य चौकीमा काम गर्छन् । उनलाई लाग्यो, छोराले त्यसो गरेर भागेपनि बुवाले कुरा बुझ्लान्, समस्याको समाधान निस्केला ।

तर उल्टो उनले धम्की पाउन थालिन् । त्यपछि उनले उजुरी गरिन्, फरार अभियुक्त खोजीपाउँको बेहोरा सहित बौद्ध पुलिसमा । तर, प्रहरीबाट पनि सकारात्मक कुरा आएन । जुम्लामा केटाको बुवासँग बेलाबेलामा कुरा भइरह्यो । घरी फकाउने, घरी धम्क्याउने गर्न कथाले केटाको बुवाले ।

प्रहरीसम्म उजुरी, घरैसम्म कुरा पुगेपछि कुरो गाउँभरी फैलियो । समाजसम्म पुग्यो । के मात्रै भनेनन्, उनलाई गाउँलेले ? अहिले उनीसँग न बुवा बोल्छन्, न आमा नै । ‘आफ्नो गल्ती थिएन भनेर सम्झाउन लाख कोशिश गरें तर, बुवा आमा मान्दै मान्नुहुन्न । मलाई नराम्रो मान्नुहुन्छ । माया गर्ने नाममा उसले मलाई बरबाद पारेर गयो । म न्याय चाहन्छु ।’

सोधें, कस्तो खालको न्याय चाहियो तपाईलाई ?

‘उसँग बिहे गर्नु छैन, उ चाहिएको पनि हैन । यत्ति हो, मेरो इज्जत लुट्यो । उसले सजाय पाउनुपर्छ ।’

मैले थोरै सोधें, धेरै आफैंले बोलिन् ।

एक दिन जुम्लाबाट केटाको बुवाले फोन गरेर बोलाए । ‘आऊ यहाँ कुरा मिलाउँ, पुलिस केस फिर्ता लिउँ, म छोरा खोज्दिन्छु ।’

एउटा प्रेमी र आफ्नो मायाको लागि उनी जुम्ला पुगिन् । बुवालाई बोलाइन् । दुई पक्षबीच कुराकानी भयो । तर, जवरजस्ती मेलमिलापको । प्रमिला भन्छिन्, ‘उसको बुवाले उल्टै धम्की दिए, पाँच लाख दिन्छु, मुद्दा फिर्ता गर भने । मैले मानिनँ ।’ अझै अगाडी भन्दै गइन्, मेरो बुवा रिसाउनुभयो, उल्टै मलाई गाली गर्नुभयो, ‘के म पाँच लाखमा छोरी बेच्न आएको हो ?’ यसो भन्दै छलफलका लागि प्रहरी कार्यालय आएका बुवा रिसाएर हिँडे । प्रहरीहरु रमिते बने, केहीपनि बोलेनन् ।

प्रमिलालाई प्रहरीदेखि खुब चित्त दुःखेको छ । अन्यायमा परेकाहरुको न्यायका लागि भनेर कार्यालय नै खोलेर बसेका मान्छे, एक शब्द बोलेनन् उनको न्यायका लागि । उनलाई शंका लागेको छ, केटाको बुवासँग प्रहरीको साँठगाँठ छ कि भनेर । नत्र त न्यायका लागि प्रहरी कार्यालय पुगेकी किशोरीका लागि किन केही बोलेनन् ?

मुद्दा फिर्ता लिन उनले मान्दै नमानेपछि केटाको बुवाले भनेछन्, ‘मेरो छोराको लागि यस्तो कुरा त सामान्य हो । यस अगाडी पनि तँ जस्ता ४/५ जना केटीलाई घुमाइसक्यो । खै त कसैले मुद्दा हालेनन् ।’

पढे लेखेका भनिएका केटाको बा’को कुराले उनको मुटु हल्लियो । तर, पनि न्यायको लागि आफ्नो लडाइँ नछोड्ने उनले अठोट गरिन् ।

१९ वर्षीया एउटा युवतीको मन मायाले चिथोरेको देखेर विरक्तै लागेर आयो । कथा यतिमै सकिएन । मायाको नाममा कलङ्कीत यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने अठोट गरेर राजधानी फर्कदै गर्दा उनलाई केटाको बुवाले फेरि भने, ‘के गर्छेउ नानी ? कसलाई भनेर न्याय माग्छ्यौ ? शेरबहादुर देउवा त मेरै पकेटका हुन् । अरु तपरका कुरा ।’

ए…हुँदा, हुँदा मान्छेले मायालाई पनि राजनीतिको ध्वास दिन थालेछन् ? उनले सुनिन् मात्रै, केही बोलिनन् ।

अब जुम्ला बसेर पार नलाग्ने देखेपछि उनी फकिईन, काठमाडौं । बस्दै आएको कोठा छोडिन् । साथी समूहमा बस्न थालिन् । अब उनको एउटा मात्रै उद्देश्य छ, उसलाई पत्ता लगाउने र कानुनको कठघरामा उभ्याउने ।

२ महिनाको यो बीचमा उनले कहिल्यै नसकिने शिक्षा पाइन् । उनको उमेर जम्मा १९ वर्ष पुग्यो । देख्छु, यो उमेरका कति केटा, केटीको लागि माया सामान्य खेल हो । माया, प्रेम गाँस्नु, छुट्नु सामान्य छ । तर, उनलाई भावनाको यो कुरो पटक्कै सामान्य लागेन । एउटा प्रेमको साथ र एउटा चोटले कति गहिरो प्रभाव पार्छ, सायद उनलाई मात्रै थाहा छ ।

मान्छेलाई लाग्दो हो, सामान्य कुरामा यति लफडा किन ? शुरुमा त मलाई पनि यस्तै लागेको थियो । तर, गहिरिँदै जाँदा लाग्छ, उनको यो लडाइँ आम प्रेमी, प्रेमीकाहरुको लागि हो । धोका दिनेहरुका लागि सबक हो । धोका पाउनेहरुका लागि मनोबल हो । कथा अझै सकिएको छैन ।

न्यायको लडाइँमा उनले थुप्रै मान्छेलाई भेटिन् । हारगुहार गरिन् । के मात्रै गरिनन् ? आफूमाथि अन्याय भयो, दोषीलाई खोजी पाउँ भन्दै उनले गृहमन्त्री जनार्दन शर्मालाई पनि भेटिन् एक्लै गएर । उनलाई साथ दिने कोही भएन ।
सोधें, एक्लै जानुभयो, गृहमन्त्रीलाई भेट्न ? टाइम दिए त मन्त्रीले ?

हो, एक्लै गएँ । चिनेको एकजना वकिलले टाइम मिलाइदिनुभयो ।

मन्त्रीलाई भेटेर के भन्नुभयो ?

आफ्ना सबै कुरा भनें । दोषीलाई खोजेर कार्वाहीका लागि अनुरोध गरें । बुझ्छु भन्नुभएको छ ।

कानुनी प्रक्रिया थाहा छैन । तर, न्यायको लडाइँ लड्छु भन्दैछिन्, उनी । काठमाडाैंको सडक सडक हिडेर होस् वा जुम्लाको समाजमा एक्लै आँटिली भएर लड्ने यिनको स्वभाव देखेर नतमस्तक भएँ ।

होला, प्रेम गर्दाताका उनका पनि केही कमजोरी भए । तर, उनको कमजोरीमा प्रहार गरेर जसरी उसले र उसका परिवारले निरन्तर दुःख दिइरहे त्यसका अघि उनका कमजोरी नगन्य लाग्छन् ।

भनिहालें, हतारमा थिएँ । रेडियोको काम जहिले पनि हतार नै हुन्छ । त्यही माथि प्राइम न्यूजको समय, झन् हतार । लामो कुराकानी पछि फेरि सोंधे, उ फर्किएर आए बिहे गर्नुहुन्छ ?

त्यो त सोंच्न पनि सक्दिनँ ।

हामीबाट के चाहेर आउनुभयो ?

“उसले गल्ती गरेको छ । गल्ती अनुसार सजाय भोग्नुपर्छ । मेरो दुःखको समाचार लेख्दिनु । फोटै छाप्दिनु । ममाथि भएको यो घटनाले म मुनिकी बहिनीले पढ्न पाएकी छैन । यसैपालि एसईईमा निकै राम्रो नम्बर ल्याएर पास भएकी छे, माइली बहिनी । तर, बुवाआमाले पढ्न दिएका छैनन् । बहिनीहरुलाई गाउँकाले मेरो नाम जोडेर अनेकथरी भन्छन् रे । उनीहरुका लागि पनि मैले यो लडाई जित्नुछ ।’
कस्तो सजाय दिलाउने त ?

‘यति हो, समाजमा मेरो बदनामी भयो, घरपरिवारको साथै छोड्नुपर्‍यो । बेइमानी गर्दा के हुन्छ, उसले बुझोस् । उसले मात्रै होइन, समाजले नै बुझोस् । तर, प्रहरीले उसलाई खोज्न मान्दैन । प्रेम भन्यो, प्रेममा धोका छ, प्रशासनको सहारामा जान खोज्छु, त्यो पनि हुँदैन । बोल्ड केटीकोे पीडा परेलीमा छचल्कियो । हिक्क हिक्क गर्न थालिन् ।’

धेरै कुरा भनिन् । २/४ कुराले मनमै छोयो । उनी शतप्रतिशत सत्य नहोलिन् । तर, उनी साँच्चै साहसी लाग्छिन् । दुनियाँले यस्ता कुरा खुलेर भन्दै हिडेर न्याय माग्न सक्दैनन् । तर, उनले आँट गरिन् । दुनियाले जे भनोस् प्रवाह गरिनन् । थाहा छैन, उनले लडाइँ जित्छिन् कि हार्छिन् ? तर, मनमा कयौ प्रश्न उब्जियो, भावनामा ठेस पुगेको कसरी देखाउने हो ? यस्ता पीडा बोकेर चुपचाप, चुपचाप बाँचिरहेका कति होलान् यो शहरमा ? विश्वासमा घात हुँदा कुन नियमको फेरो समातेर हो न्याय माग्ने ? यस्ता पीडाबाट गुज्रिएकाको लागि केही सोच्न पर्ने हो कि होइन यो समाजले ?

आफूलाई पनि हतार, उनलाई पनि कोठा पुग्न ढिला होला भनेर आफैंले बिदा मागें । जीन्दगीदेखि नै दिक्दारी मानेर निराश भएकी उनलाई सम्झाएँ । तपाईंको ९० प्रतिशत चिन्ता हामीलाई दिनुस्, हामी सघाउँछौं तपाईलाई । चिन्ता नलिनुस्, तपाईजस्ता थुप्रै केटीहरुका लागि पनि तपाईले यो लडाई जित्नुपर्छ । घरपरिवार अनि बहीनीहरुका लागि पनि तपाईले यो लडाई जित्नैपर्छ । खाना खान नछोड्नुस्, पढ्न नछोड्नुस्, राम्ररी जाँच दिनुस् । न्यायका लागि संघर्ष गर्न पनि पहिला त तपाई बाँच्नुपर्छ । आफूलाई कमजोर नबनाउनुस् ।

जाँदाजाँदै मलिन स्वरमा सोधिन्, “दिदी, मैले न्याय पाउँछु त ?”

किन नपाउनु ? बिहै भएर गएको श्रीमानले जबर्जस्ती गरे त कारबाही हुन्छ……तपाईले त उसलाई माया मात्रै गर्नुभएको थियो । तपाईको सोझोपनको फाइदा उठाएर जबर्जस्ती गरेर उसले गल्ती गरेको छ । सजाय त पाउँछ नै, ढिलोचाँडो । संघर्ष गर्न नछोड्नुस् ।
यति भनेर उसलाई पठाएँ ।

एकहप्ताभरी उसको कथाले पोलिरह्यो…..पोलिरह्यो । अनि शब्दमा उतारें ।

(रिसाल सामुदायिक सूचना नेटवर्क सीआईएनमा कार्यरत छिन् ।) 

तपाईको प्रतिक्रिया