निर्धारित मितिमै निर्वाचन हुन्छ : आयोग

३२ जिल्लामा ५ गते उम्मेदवारी दर्ता

महेश्वर गौतम / काठमाडौं

निर्वाचन आयोगले १० र २१ मंसिरका लागि तय प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन निर्धारित मितिमै हुनेमा विश्वस्त हुन आग्रह गरेको छ ।  आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले बुधबार कान्तिपथस्थित आयोग कार्यालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन हुँदैन कि भन्ने आशंका नगर्न आग्रह गरेका हुन् ।

उनले बुधबार सर्वोच्च अदालतको आदेशसमेत निर्वाचनकै पक्षमा आएको भन्दै अब निर्वाचन हुँदैन कि भन्ने आशंका हटेको बताएका हुन् ।  सर्वोच्चको आदेश निर्वाचनकै पक्षमा आएको भन्ने सुनेको छु, यस्तै २९ असोजमा नै ठूलो उत्साहसाथ दलहरूले समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवारहरूको बन्दसूची समेत बुझाइसक्नुभएको छ, यसबाट १० र २१ मंसिरको निर्वाचन हुने सुनिश्चित भएको छ । तोकिएकै मितिमा निर्वाचन हुन्छ,’ प्रमुख आयुक्त यादवले भने ।

आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि ५ कात्तिकमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको छ ।  प्रमुख आयुक्त यादवले १० मंसिरअन्तर्गत पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा निर्वाचन हुने भन्दै आयोग त्यसको व्यवस्थापनमा  लागिरहेको बताए ।

यादवले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सदरमुकाममा  २९ असोजमा नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको भन्दै प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि ५ कात्तिकमा आआफ्नो निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गर्न सकिने बताएका हुन् ।

एउटै मतपत्र

आयोगले प्रदेशसभा र प्रतिनिधिसभाका लागि एउटै मतपत्र प्रयोग गरिने स्पष्ट पारेको छ ।  १७ असोजबाट नै दुवै निर्वाचनका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनका लागि मतपत्र छपाइको काम धमाधम भइरहेको भन्दै एउटै मतपत्रमा प्रदेशसभा र प्रतिनिधिसभाका लागि निर्वाचन चिह्न रहने स्पष्ट पारेको हो ।

आयोगले समानुपातिकतर्फको निर्वाचनका लागि १ करोड ८० लाख मतपत्र आवश्यक पर्नेमा बुधबारसम्म ९० लाखभन्दा बढी छपाइ भइसकेको भन्दै ७ कात्तिकसम्ममा सबै छपाइ सकिसक्ने बताएको छ ।

समानुपातिकतर्फको मतपत्र सेतो कागजमा हल्का रातो मसीले छापिनेछ भने पहिले हुने निर्वाचन प्रणालीतर्फको मतपत्र सेतो कागजमा हल्का हरियो रङको मसीले छापिने गरी मतपत्रको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

पहिलो चरणमा ३२ लाख २८ हजार ८ सय ७९ मतदाता

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो चरणको १० मंसिरको निर्वाचनमा ३२ लाख २८ हजार ८ सय ७९ मतदाता सहभागी हुन पाउनेछन् । आयोगले पछिल्लो पटक थप गरेको नामावलीसहित सो संख्यामा ३२ जिल्लामा हुने निर्वाचनमा मतदानमा सहभागी हुन पाउने भएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुल १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाताले सहभागिता जनाउन पाउनेछन् ।

एक केन्द्र एक शिक्षा कार्यकर्ता

निर्वाचन आयोगले १० र २१ मंसिरमा हुने निर्वाचनका लागि एक मतदान केन्द्र एक मतदाता शिक्षा कार्यकर्ता परिचालन गर्ने जनाएको छ । मतदाता शिक्षालाई प्रभावकारी बनाउँदै बदर मत कम गर्न एक केन्द्र एक शिक्षा कार्यकर्ता परिचालन गर्ने भएको हो । आयोगले स्थानीय तह निर्वाचनमा भन्दा बढी नमुनामा मतदानसमेत गराइने भन्दै २० हजार मतदाता शिक्षा कार्यकर्ता परिचालन हुने बताएको हो ।

१६ राष्ट्र भाषामा मतदाता शिक्षा

निर्वाचन आयोगले निर्वाचनमा बदर मतलाई कम गर्न १६ राष्ट्र भाषामा मतदाता शिक्षा सामग्री तयारी गर्न प्रक्रिया अघि बढाएको छ । निर्वाचन शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन भन्दै आयोगले १६ राष्ट्र भाषामा निर्वाचन शिक्षा सामग्री बनाउने बताएको हो ।

यस्तै आयोगले निर्वाचनका लागि आठ प्रकारका तालिम सञ्चालन सुरु गरिसकेको जनाएको छ । जसअनुसार निर्वाचन र सञ्चार, मतदाता शिक्षा, निर्वाचन सामग्री तथा लेखा व्यवस्थापन, निर्वाचन सञ्चालन तथा व्यवस्थापन, निर्वाचन र प्रविधि व्यवस्थापन, निर्वाचन र सुरक्षा व्यवस्थापन, मतदान र मतगणना तथा राजनीतिक दलसँग सम्बद्ध युवाहरूका लागि प्रशिक्षण दिइने आयोगले जनाएको छ ।

मतपेटिका पुरानै

आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि यसअघिका निर्वाचनमा व्यवस्थापन गरिएका मतपेटिका नै प्रयोग गर्ने जनाएको छ ।  आयोगले सोको व्यवस्थापनका लागि तयारी अघि बढाएको भन्दै पहिले प्रयोग भएका मतपेटिका नै आगामी निर्वाचनमा समेत प्रयोग हुने बताएको हो ।

तपाईको प्रतिक्रिया